Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


करिब २९ सय उम्मेदवारको जमानत जफत


0
Shares

काठमाडाैं ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेका करिब ३ हजार उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगकाअनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारको धरौटी जफत भएको हो । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ ।

निर्वाचन सम्बन्धी कानूनअनुसार कुनैपनि उम्मेदवारले जमानत जोगाउन आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्नेछ । १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा धरौटी रकम राज्यको ढुकुटीमा जाने कानूनी प्रावधान छ ।

सूचना अधिकारी घिमिरेकाअनुसार जमानत जफत भएका उम्मेदवारमध्ये ३ सय ५० जना उम्मेदवारले एक भोट पनि प्राप्त गर्न सकेनन् । उनीहरुको मत परिणाम शून्य देखिएको छ । प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेकामध्ये जम्मा ५ सय १६ जना उम्मेदवारले मात्र कुल सदर मतको १० प्रतिशत कटाएर आफ्नो जमानत जोगाउन सफल भएका छन् ।

जमानत जोगाउन सफल उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता पाउनका लागि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । ऋतपूर्वक निवेदन दिएपछि उनीहरुले कानून बमोजिम आफ्नो रकम फिर्ता पाउने आयोगले जनाएको छ । आयोगले प्रत्यक्षतर्फ ५ प्रतिशत र समानुपातिकतर्फ ३ प्रतिशत मत बदर भएको उल्लेख गरेको छ ।