Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


देशभर गृहको सुरक्षा योजना पूर्ण रुपमा सफल : प्रवक्ता काफ्ले


143
Shares

काठमाडाैं । गृह मन्त्रालयले देशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।

विगतका निर्वाचनका अनुभव र वर्तमानको फरक परिवेशलाई सुक्ष्म रूपमा मूल्याङ्कन गरी तयार पारिएको एकीकृत सुरक्षा योजना पूर्ण रूपमा सफल भएको मन्त्रालयले दाबी गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन पूर्वको अवस्थालाई शान्तिपूर्ण रूपमा सम्पन्न गरी आज मतदानको दिनसम्म आइपुग्दा सुरक्षा व्यवस्था अत्यन्तै चुस्त देखिएको बताउनु भयो । केही स्थानमा व्यवस्थापकीय वा अन्य कारणले मतदानमा सामान्य अवरोध आएपनि तत्काल समाधान गरिएको मन्त्रालयले जनाएको छ ।

दोलखाको एउटा मतदान केन्द्रमा लामो समयदेखि अवरुद्ध भएको मतदान कार्य जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सुरक्षाकर्मीको समन्वयमा पुनः सुचारु भइसकेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले बनाएको एकीकृत सुरक्षा योजनाअनुसार नै सुरक्षाकर्मीहरू परिचालित हुनुभएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा एकदमै शान्तिपूर्ण र मतदाताले उत्साहपूर्वक मतदान गरिरहनुभएको छ ।’निर्वाचनमा उम्मेदवार, मतदाता, सञ्चारकर्मी र पर्यवेक्षक लगायत सबैको सुरक्षाका लागि ‘माइक्रो तह’ बाटै सुरक्षाकर्मीको तैनाथी गरिएको उहाँले बताउनुभयो ।