सुमन खड्का, सुर्खेत।
कर्णाली प्रदेशभर प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार प्रदेशभर करिब ५२ दशमलव ९ प्रतिशत मतदान भएको छ।
प्रदेशका जिल्लामध्ये हुम्लामा सबैभन्दा बढी ६४ दशमलव १५ प्रतिशत मत खसेको छ भने सल्यानमा सबैभन्दा कम ४४ दशमलव ४० प्रतिशत मतदान भएको जनाइएको छ। अन्य जिल्लाहरूमा पनि समग्रमा शान्तिपूर्वक मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।
यसैबीच सुर्खेत जिल्लामा पनि मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका दुई निर्वाचन क्षेत्रअन्तर्गत रहेका १ सय ४० मतदान स्थलका ३ सय २ मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो।
जिल्लाका कुल २ लाख ४८ हजार ९ सय ४३ मतदातामध्ये ५५ दशमलव ६७ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत दिपक ढकालका अनुसार राति १ बजेसम्म सबै मतदान स्थलबाट मतपेटिका संकलन गरिसकिने अपेक्षा गरिएको छ। मतपेटिका संकलन भएसँगै बिहान सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।







प्रतिक्रिया दिनुहोस्