Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


धादिङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न , ५० प्रतिशत मत खस्यो


182
Shares

नबराज छत्कुली, धादिङ ।

धादिङ जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रारम्भीक रिपोर्ट अनुसार ५० दशमलव २९ प्रतिशत मत खसेको छ ।

जिल्लामा कुल दुई लाख ७५ हजार दुई सय ८० मतदातामध्ये एक लाख ३८ हजार चार सय ४७ मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव बहादुर गुरुङले जानकारी दिनुभयो । जिल्लामा रहेको एक सय १४ मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु गरिएको छ ।

धादिङ निर्वाचन क्षेत्र नम्बर १ को गल्छी गाउँपालिकाको महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा र धादिङ निर्वाचन क्षेत्र नम्बर २ को सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गरिने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार क्षेत्र नम्बर १ को मतपेटिका आजै राती १२ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा संकलन हुने र क्षेत्र नम्बर २ को रुवीभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका र गंगाजमुना गाउँपालिकाका मतदान केन्द्रहरुको मतपेटिका शुक्रबार दिउँसो मात्रै सदरमुकाम आइपुग्नेछ । सदरमुकाम आसपासका पालिकाहरुबाट भने मतपेटिका आजै मतगणनास्थलमा ल्याइनेछ ।