Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


मतदान केन्द्रका कर्मचारीद्वारा दल विशेषको पक्षमा मत मागेपछि नियन्त्रणमा


949
Shares

चितवन । चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुई जना मतदान कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदानस्थलमै दल विशेषको पक्षमा मत मागेको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–३ को माडी नगरपालिकास्थित माडी माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका एक कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरेको आरोप लागेको थियो।

उक्त जानकारी प्राप्त हुनासाथ उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसैगरी, अर्का एक कर्मचारीलाई पनि आचारसंहिता विपरीत गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको स्रोतले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाका अन्य मतदान केन्द्रहरूमा भने मतदान शान्तिपूर्ण रूपमा जारी रहेको प्रशासनले जानकारी दिएको छ। सुरक्षाकर्मी परिचालन थप कडाइका साथ गरिएको र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो–कोहीमाथि कारबाही गरिने चेतावनी दिइएको छ।