Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु, १९ घाइते


104
Shares

एजेन्सी । कजाखस्तानको उत्तरी भागमा रहेको रिसोर्ट शहर श्चुचिन्स्कमा एक क्याफेमा ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

प्रारम्भिक रिपोर्ट अनुसार क्याफेमा ग्यास–हावा मिश्रणले आगलागी निम्त्याएपछि विस्फोट भएको थियो । यो एकतले क्याफे आवासीय भवनसँग जोडिएको थियो । जसमा विस्फोटपछि आगलागी समेत भएको थियो । आगो पूर्ण रूपमा नियन्त्रणमा आएको क्षेत्रीय आपतकालीन विभागले बताएको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार, ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी २ जनाको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरूमा १६ वर्षीया एक किशोरी पनि छिन् । घाइतेमध्ये १३ जना अझै अस्पतालमा उपचाररत छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ ।

प्रहरी तथा अधिकारीहरूले विस्फोटको कारण पत्ता लगाउन छानबिन शुरु गरेका छन् । केही रिपोर्टमा आगलागी सुरक्षाका नियम उल्लंघन भएको शंका गरिएको छ । घटनास्थलबाट उद्धारकर्ताहरूले ५० लिटरका ५ वटा ग्यास सिलिण्डर र २ वटा अक्सिजन सिलिण्डर निकालेका थिए । जसले थप विस्फोट हुनबाट जोगाएको थियो ।