काठमाडाैं । साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी क्रिकेटको फाइनलमा पुगेका छन् ।
आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै उपाधि नजिकै पुगेकाे हाे । त्रिवि त्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेकाे छ । बागमतीले दिएको ८९ रनको लक्ष्य पुलिसले दोस्रो दिनको तेस्रो सत्रमा २ विकेट गुमाएर भेटायो । पुलिसका सोहेल कुँवरले नटआउट ३५ रन बनाए । बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए।
बागमती दोस्रो पारीमा २ सय ३७ रनमा अलआउट भएको थियो । बागमतीका ईशान पाण्डेले ८० रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको बागमती पहिलो पारीमा १ सय ८५ रन बनाउँदा अलआउट भएको थियो । बागमतीका ईशान पाण्डेले ४१ रन बनाए । पुलिसका करण केसीले ४, ललित राजवंशीले ३ विकेट लिएका थिए।
पुलिसले पहिलो पारीमा ८ विकेट गुमाएर ३ सय २४ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । पुलिसका कुशल भुर्तेले ९६, कप्तान आरिफ शेखले ५३ र दिलसाद अलीले ५१ रन बनाए । बागमतीका सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।
त्यस्तै. मूलपानी मैदानमा शुक्रबार भएको आर्मी र नेपाल एपीएफ क्लबबीचको खेलमा बराबरी भएको छ । आर्मीले दिएको ३ सय ८१ रनको लक्ष्य पछ्याएको एपीएफले दोस्रो दिनमा ७ विकेट गुमाएर २ सय २८ रन बनाउँदा खेल बराबरीमा सकियो । एपीएफका लोकेश बलमे ६४ रन बनाए । आर्मीका नरेन साउदले ५ विकेट लिए ।
आर्मीले दोस्रो पारीमा ८ विकेट गुमाएर २ सय ६८ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । आर्मीका बसिर अहमदले नटआउट १ सय १, कप्तान विनोद भण्डारीले ६३ रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ३, पुरन बिकेले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ९ विकेट गुमाएर २ सय ५२ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । आर्मीका तृतराज दासले १ सय २, इमरान शेखले ७१ रन बनाए । एपीएफका युवराज खत्रीले ५ विकेट लिए ।
एपीएफ पहिलाे पारीमा १ सय ४० रनमा अलआउट भएकाे थियाे । एपीएफका कप्तान राेहित पाैडेलले ४८ रन बनाए । आर्मीका साेमपाल कामीले ४ विकेट लिए । प्रतियोगितामा गएको वर्षको प्रधानमन्त्री कपको शीर्ष चार टोली सहभागी थिए । प्रतियोगिताको फाइनल खेल आइतबारदेखि मंगलबारसमम त्रिवि मैदानमा हुने भएकाे छ ।
गत वर्ष आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।









प्रतिक्रिया दिनुहोस्