Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


चीनले प्रमुख राजनीतिक बैठक अघि सेनाका ९ सहित १९ जना अधिकारी हटायो


312
Shares

एजेन्सी । चीनले अर्को हप्ता हुने आफ्नो सबै भन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ ।

देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन कांग्रेस’ (एनपीसी) स्थायी समितिले १९ जना अधिकारीलाई हटाउने घोषणा गरेको बीबीसीले जनाएको हाे । उनीहरूलाई हटाउनुको कुनै आधिकारिक कारण सार्वजनिक भएको छैन । राष्ट्रपति सी जिनपिङले सर्वोच्च पदका जनरल तथा निकटतम सैन्य सहयोगीहरूमध्ये एक झाङ युसियालाई पदबाट हटाएपछि यो घटना सार्वजनिक भएको छ ।

सत्तामा आएदेखि राष्ट्रपति सीले भ्रष्टाचार विरोधी अभियानहरूको लहर शुरू गर्नुभएको छ । उहाँले भ्रष्टाचारलाई कम्युनिस्ट पार्टीका लागि ‘सबै भन्दा ठूलो खतरा’ काे रुपमा लिनुभएकाे छ । यद्यपि केही आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सक्ने उपकरणका रूपमा प्रयोग गरिएको दावी गरेका हुन्। राज्य सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार हटाइएका अधिकारीहरूमा पिपुल्स लिबरेशन आर्मी (पीएलए) ग्राउन्ड फोर्सका कमान्डर ली किआओमिङ र पीएलएका पूर्व नौसेना कमान्डर शेन जिनलोङ समावेश छन् ।

आगामी मार्च ४ देखि ११ सम्म राजधानी बेइजिङमा चल्ने बैठकमा सरकारले आफ्नो पञ्चवर्षीय योजना घोषणा गर्ने खबरमा उल्लेख छ । बैठकमा सरकारले आफ्ना प्रमुख नीतिगत उद्देश्य र वार्षिक आर्थिक लक्ष्यहरूको रूपरेखा प्रस्तुत गर्ने भएकाे हाे ।