Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


ब्राजिलमा बाढी-पहिरोमा परी २५ जनाको जीवन गयो

राष्ट्रपति सिल्भाद्वारा घटनाप्रति दुःख व्यक्त, आपत्कालकाे पनि घोषणा

169
Shares

एजेन्सी। ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण करिब २५ जनाको ज्यान गएको छ ।

बीबीसीले सबै भन्दा बढी क्षति जुइज दि फोरा शहरमा भएको जनाएकाे हाे । साेही शहरमा १८ जनाको ज्यान गएको पुष्टी भएको छ । त्यसैगरी उबा शहरमा ७ जनाको ज्यान गएको छ । रातको समयमा अधिकांश घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका हुन् । उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले भग्नावशेष र हिलो हटाउँदै हराइरहेकाहरूको खोजीकार्य गरिरहेकाे बीबीसीले जनाएकाे छ।

ब्राजिलका राष्ट्रपति लुइज इन्सियो लुला दा सिल्भाले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले जुइज दि फोरामा आपत्काल घोषणा गर्दै राहत, उद्धार तथा पुनर्निर्माणमा तीव्र रूपमा परिचालन गरिएको बताउनुभयाे । जुइज दि फोरामा मात्रै करिब साढे ४ सय परिवार घरबारविहीन भएका छन् । नगरका मेयर मार्गारिदा सालोमाओले यो घटनालाई आफ्नो पाँच वर्षे कार्यकालकै सबै भन्दा दुःखद क्षण भन्दै तीन दिन शोक मनाउने घोषणा गर्नुभएको हाे ।

राज्यका गभर्नर रोमेउ जेमाले घटनालाई दुःखद दिन भन्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनुभएको छ । अधिकारीहरूले यसवर्ष फेब्रुअरी महिनामा जुइज दि फोरामा इतिहासकै सबै भन्दा ठूलो वर्षा मापन भएको बताएका हुन् । राष्ट्रिय मौसम निकायले मिनास जेरेइस, रियो दि जेनेरोसहित १२ भन्दा बढी राज्यमा ठूलो वर्षाको चेतावनी जारी गरेको छ । यसअघि सन् २०२४ मा रियो ग्रान्दे दो सुल राज्यमा आएको बाढी र पहिरोका कारण करिब २ सय जनाको ज्यान गएको थियो ।

बाढी र पहिरोमा परी २० लाख भन्दा बढी मानिस प्रभावित भएका थिए ।