काठमाडाैं । धादिङमा साेमबार भएको बस दुर्घटनामा जीवन गुमाएका सबैको परिचय खुलेको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमबार बिहान भएको बस दुर्घटनामा जीवन गुमाएका तीन विदेशी नागरिकसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हाे । पोखराबाट आइतबार बेलुका काठमाडाैंका लागि छुटेको ग २ ख १२३१ नम्बरको बस सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो । कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रकाश दाहालले साेमबार राति एक सूचना जारी गर्दै दुर्घटनामा बेलायती, भारतीय र चिनियाँ एक-एकसहित १९ जनाकाे मृत्यु भएकाे बताउनुभएकाे छ ।
दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले १४ जनाको काठमाडाैं ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलंकीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेकाे बताउनुभयाे । साेही दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा साेमबार पाँच सदस्यीय कार्यदल गठन समेत गरिएकाे छ।








प्रतिक्रिया दिनुहोस्