केके मानन्धर, काठमाडाैं ।
राष्ट्रिय विभूति शंखधर सख्वाः प्रतिष्ठानले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलाई चाड विवाद समाधानको उपायसहितको पत्र बुझाएको छ ।
समितिकी सदस्य रति जोशी श्रेष्ठको उपस्थितिमा पत्र हस्तान्तरण गरिएको हो । केही दसकदेखि नेवार समुदायभित्र चाड मनाउनेमा एकरुपता नभएको सम्बन्धिको विवाद रहँदै आएकोमा प्रतिष्ठानले विवाद समाधानको लागि ३ बुँदे उपाय सहितको पत्र बुझाएको हो । प्रतिष्ठानले ज्योतिषी, दैवज्ञ, जोशी समाज, बज्राचार्य, कर्माचार्य तथा राजोपाध्यायहरुको सहभागितामा सम्पन्न भएको गोष्ठीको ३ बुँदे निष्कर्षसहितको पत्र बुझाएको हो ।
पत्रमा उल्लेख भएको बुँदा १ मा दुई दसक अगाडिदेखि स्वन्ति (तिहार)को लक्ष्मीपूजा, म्हपूजा र भाइटिका तथा बडा दशैंको महाअष्टमी, नवमी तथा विजया दसमी फरक फरक मितिमा मनाउँदै आएकोमा समुदायको एकतालाई ध्यानमा राखी अब उप्रान्त समझदारीमा चाड मनाउने उल्लेख छ । दोस्रो बँुदामा लोकको परम्परा लोकाचार, देशको परम्परा देशाचार र कुलको परम्परा कुलाचार सापेक्ष ढंगबाट समयानुकूल परिवर्तन गरी समझदारीमा चाड मनाउने उल्लेख छ ।
त्यस्तै, अन्तिम बुँदामा विशेष चाडको रुपमा मनाउँदै आएको बडा दशैंको ३ दिन र तिहारको ३ दिन टुट नगरिकन क्रमिक रुपमा मनाउने उल्लेख गरिएको छ । चाडमा टुट नगराउनको लागि बडा दशैंको महाअष्टमी (कूछिभ्वय्) र तिहारको लक्ष्मीपूजालाई माणाङ्क तय गर्नुपर्ने उल्लेख गरेको छ ।
पञ्चाङ विकास समितिले समुदायको समझदारीसहितको पत्र हस्तान्तर गरेको सन्दर्भमा पात्रोमा चाड मनाउने विवरण स्पष्ट उल्लेख गर्न सकिने बताए बमोजिम प्रतिष्ठानले पत्र बुझाएको प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरले बताउनुभयो । पञ्चाङ्ग विकास समितिलाई पत्र बुझाएसँगै आंशिक रूपमा चाड सम्बन्धिको समस्या समाधान हुने उहाँले विश्वास गर्नुभएको छ । थप छलफलमार्फत चाड सम्बन्धिको एकरुपताको समस्या क्रमिक रुपमा समाधान हुने उहाँले बताउनुभयो । हुनपनि, उहाँको नेतृत्वको टोलीले लामो समयदेखि सरोकारवालाहरू संलग्न गराएर थुप्रै पटक बैठक तथा गोष्ठी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्