Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


धादिङ बस दुर्घटना अपडेट: मृतक १९ मध्ये ९ जनाको सनाखत


897
Shares

नवराज छत्कुली-संवाददाता

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौडामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सख्या १९ जना पुगेको छ।

१९ मृतक मध्ये हालसम्म एक जना विदेशी नागरिकसहित ९ जनाको भने सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे हाे । मृत्यु हुनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान , कास्कीको पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन् ।

त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको रहेको प्रहरीले बताएको हाे । घाईते मध्ये एक पुरुषको भने काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएका थियो । अन्य १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिलाको हालसम्म सनाखत हुन नसकेको प्रहरीले बताएकाे छ।

प्रहरीले बसमा चालकसहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार रहेकाे जानकारी दिएकाे हाे ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस साेमबार बिहान १ बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

Skip This