काठमाडाैं । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ।
साेही दुर्घटनामा परी घाइते भएका एक जनाको काठमाडौंकाे ट्रमा सेन्टरमा र अर्काे एककाे अन्य अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १९ जना पुगेको प्रहरीले बताएकाे हो। प्रहरीले मृत्यु हुने मध्ये १ महिला र १ पुरुष गरी २ जना विदेशी नागरिक रहेकाे बताएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ३२ वर्षीय एक पुरूषको उपचारका क्रममा मृत्यु भएको जनाएकाे हो। उनको परिचय भने नखुलेको प्रहरीले बताएकाे हाे । दुर्घटनापछि २३ जना घाइतेलाई काठमाडौं ल्याइएको थियो।तीमध्ये १० जनालाई नेसनल अस्पताल कलंकी र १३ जना ट्रमा सेन्टरमा लगिएको थियो।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस साेमबार बिहान करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडकखण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। सशस्त्र प्रहरी बल नेपालले बसमा कुल ४५ जना सवार रहेकाे जनाएकाे छ। जसमध्ये २८ जना घाइते भएका छन्। बाँकी घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
साेही बस आइतबार बेलुकी ७ बजे पोखराबाट छुटेको थियो। मृतकको पहिचान अहिलेसम्म नखुलेको प्रहरीले बताएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्