Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रास्वपा चुनाव भाड्न लागेको ओलीको आरोप


195
Shares

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ।

आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा भाग लिन शनिबार झापा पुग्नुभएका ओलीले पछिल्ला केही दिनयताका घटनाक्रम हेर्दा रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गर्नुभएको हो।

अध्यक्ष ओलीले रास्वपाले होहल्ला गर्ने र बलमिच्याइँ गर्ने काम गरिरहेको र चुनावमा दोहोरो चरित्र देखाएको टिप्पणी पनि गर्नुभयो । रास्वपाका पछिल्ला घटनाक्रमले निर्वाचन भाँड्ने दिशातर्फ उन्मुख भएको आफूले पाएको ओलीको भनाइ थियो। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको जबर्जस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

यस्तै ओलीले गम्भीर संवैधानिक जटिलताका बेला सर्वोच्च अदालतले समयमै फैसला दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। समय घर्किसकेपछि अदालतबाट आउने न्यायको कुनै अर्थ नहुने पनि बताउनुभयो। प्रतिनिधि सभा पूर्नस्थापनाको रिटमा सर्वोच्च अदालतले फागुन २२ गतेलाई पेशी तोकेको छ।

फागुन २१ मा प्रतिनिधिसभाका लागि निर्वाचन हुँदैछ। ओलीले ढिलो गरी दिइने न्यायलाई म्याद गुज्रिएको औषधिसँग तुलना पनि गर्नुभएको थियो। उहाँले अदालतबाट समयमै निकास नआएपछि अब मुलुकलाई अघि बढाउन चुनावबाहेक अर्को विकल्प नरहेको ओलीले स्पष्ट पार्नुभयो।