Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


टिकट वितरण विवाद : बारामा रास्वपाका नेताहरूको सामूहिक राजीनामा


8k
Shares

बारा ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही प्रमुख स्थानीय नेताहरूले राजीनामा घोषणा गरेका छन्। टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गरेका हुन्।

राजीनामा दिनेमा रास्वपा बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरी, कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादव तथा देवताल गाउँपालिका सभापति कमरुद्धिन मियाँ रहेका छन्। उनीहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीको उम्मेदवारी छनोट प्रक्रियामा पारदर्शिता र समावेशिता नदेखिएको आरोप लगाएका छन्।

नेताहरूले पार्टीले उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई अनलाइन फाराम भर्न लगाएको तर अन्तिम छनोटमा उनीहरूलाई समावेश नगरेको दाबी गरेका छन्। कलैया उपमहानगरपालिका नगरसभापति सञ्जिव यादवका अनुसार अनलाइन फाराम भर्ने क्रममा प्रत्यक्षतर्फ २५ हजार र समानुपातिकतर्फ ५० हजार रुपैयाँ संकलन गरिएको थियो। उनले उक्त रकम सम्बन्धित उम्मेदवारहरूलाई फिर्ता गर्न माग गरेका छन्।

बारामा मात्रै ५० जनाभन्दा बढीले अनलाइनमार्फत प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारी दर्ता गराएका थिए। अनलाइन फाराम भर्न पार्टी सदस्यता अनिवार्य गरिएको थियो। तर स्थानीय नेताहरूको आरोप अनुसार सदस्यता लिएर प्रक्रिया पूरा गरेका व्यक्तिहरूलाई समेत अन्तिम सूचीमा समावेश नगरिएको छ।

निर्वाचनको मुखैमा देखिएको यो असन्तुष्टिले बारामा रास्वपाको संगठनात्मक अवस्थामाथि प्रश्न उठाएको छ। पार्टीको केन्द्रीय नेतृत्वले यसबारे औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ।