Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पार्टीकाे झण्डा जलाउने रास्वपाका नेतामाथि कारबाही गर्न एमालेकाे माग


1.1k
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ।

बिहीबार राति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो। एमाले निर्वाचन परिचालन कमिटीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा रास्वपाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका साथ नाराबाजी गर्दै महासचिव शंकर पोखरेलको गृह नगरमा अराजक शैली प्रदर्शन गरेको उल्लेख छ। एमालेले यस घटनालाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अफराधजन्य कार्यको संज्ञा दिएको हाे।

एमालेले यसलाई लोकतन्त्रको परिधिबाहिरको कार्य भन्दै रास्वपाको यो हर्कतले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएको छ। दलिय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष भए पनि रास्वपाले नयाँको नाममा एउटा स्थापित राष्ट्रिय शक्तिको आस्थामा चोट पुर्‍याउने काम गरेको एमालेको ठहर छ।

एमालेले आफू अनुशासित पार्टी भएको तर संयमतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ। घटनामा संलग्नहरूको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत एमालेले गराएको छ ।