Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


‘अब कर्णालीका सुइना हाम्रा सुइना’ : बालेन्द्र साह


52
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको भूगोल, संस्कृति र प्रचुर सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ ।

मुगुस्थित ‘स्वर्गकी अप्सरा’ उपनामले परिचित रारा तालको किनारबाट कर्णालीको समृद्धिको ढोका खोल्ने ‘वाचापत्र’ सार्वजनिक गर्दै नेता शाहले यस्तो बताउनुभएको हो । सम्बोधनका क्रममा शाहले कर्णालीको भौगोलिक विशिष्टताको चर्चा गर्दै देशको सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा लामो नदी कर्णाली र सबैभन्दा गहिरो ताल फोक्सुण्डो कर्णालीमै रहेको बताउनु भयो । तर यो गहिराइलाई अहिलेसम्मका कुनैपनि सरकार वा राजनीतिक दलले बुझ्न नसकेको बताउनु भयो । कर्णालीको गहिराइ बुझ्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएको उहाँको भनाइ छ ।

कर्णालीको आर्थिक अवस्थामाथि चिन्ता व्यक्त गर्दै उहाँले डोल्पाको बहुमूल्य यार्सागुम्बा विश्व बजारमा पुग्ने भएपनि कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापासम्म पुग्न नसक्नु विडम्बनापूर्ण रहेको बताउनु भयो । रास्वपाले कर्णालीको स्थानीय उत्पादनलाई देशभरका भान्सासम्म पु¥याउने संयन्त्र निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साहले कर्णालीलाई नेपाली र खस भाषाको उद्गम स्थलका रूपमा स्मरण गर्दै सिन्जा उपत्यका सभ्यताको संरक्षणमा जोड दिनुभयो । कर्णालीमा व्याप्त भोकमरी, मातृ मृत्युदर र बाल मृत्युदरका तथ्याङ्कहरू अझै पनि भयावह रहेको प्रति दुःख व्यक्त गर्दै उहाँले अब गरिबी बेच्ने राजनीति अन्त्य हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्णाली यो देशको सबैभन्दा ठूलो ताल रारा ताल, राजा महेन्द्रले भन्नुभएजस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा धेरै खुशी लागेको छ । देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले यो देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं, त्यो गहिराइ बुझ्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी । आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभरि पुग्न सक्छ तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न सक्दैन । यहाँको उत्पादनलाई कम्तिमा पनि देशभरि पु¥याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। आफैमा यो सिन्जा भ्याली सिभिलाइजेसन, सिन्जा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गम स्थल, खस भाषाको उद्गम स्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ ।

यो सबै भएमा एउटा सभ्यता मानिन्छ, त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। जसरी काठमाडौं महानगरपालिकामा हाम्रो नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, त्यहाँको बाजागाजा, त्यहाँका मूर्त अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौं, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौं र त्यो जोगाउने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। देशमा अझै पनि भोकमरी छ, अझै पनि ४ वर्ष मुनिका बालबालिकाहरुको मृत्युदर एकदमै बढ्दो छ, महिलाहरुको आमाहरुको मृत्युदर बढ्दो छ, त्यो कर्णालीमा छ र त्यो कर्णालीको पीडालाई, गरीबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए, त्यो गरीबीलाई बुझ्ने नेता धेरै आएका छैनन् अहिलेसम्म कोही आएको छैन, त्यो बुझ्ने नेताहरु बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु । यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आयआर्जन सबै वृद्धि गर्न पाऔं, तपाईंहरुको आशिर्वाद लिन पाऔं र तपाईंहरुको अस्ति मैले फेसबुकमा लेखेको जस्तै अब कर्णालीका सुइना हाम्रा सुइना भन्या जस्तै तपाईंहरुको त्यो सपना बोकेर जान पाऔं र त्यो सपना बोक्ने शुरुवात आज हामीले वाचापत्रबाट गरेका छौं, कर्णालीबाट घोषणा गरेका छौं। आज उपरान्तबाट त्यो सबै तपाईंको सपना हाम्रा सपना हुनेछन्, ती सपना बोकेर यहाँबाट जान पाऔं ।’
पर्यटन, कृषि र आयआर्जन वृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै रास्वपाले कर्णालीको समग्र विकासको खाका प्रश्तुत गरेको छ ।