Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


युवाको ऊर्जा र अनुभवीको दृष्टि मिलेर देश बन्छ : अध्यक्ष ओली


26
Shares

काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन पछि बन्ने एमाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिकताका कामहरू समय सीमा तोकेर अगाडि बढाउने घोषणा गर्नुभएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य हासिल गर्न सुशासन, विकास र समृद्धिका लागि २५ स्तम्भहरू नीतिगत प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभएको हो । पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको चर्चालाई भ्रमको संज्ञा दिँदै ओलीले यो देश पुस्ताहरू बीचको द्वन्द्वले नबनेको बताउनुभयो ।

युवा भनेको आगो भएको उल्लेख गर्नुहुँदै अनुभव भनेको उज्यालो भएको बताउनु भयो । आगोलाई दिशा चाहिने र उज्यालोलाई ऊर्जा चाहिने भन्दै उहाँले दुवै मिलेर मात्र देशको भविष्य उज्ज्वल हुने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले यो निर्वाचनलाई केवल पुस्तान्तरको विषय नभई ‘देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह’ भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो गन्तव्य स्पष्ट छ । समृद्ध नेपाल सुखी नेपाली । हाम्रो संकल्प स्पष्ट छ । सुशासन, विकास, समृद्धि र समानता। त्यसैका लागि घोषणापत्रमा हामीले गर्ने कामको सूची प्रस्तुत गरेका छौं । तत्काल गर्ने ११ काम, ५ आधारभुत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेका छौं । निर्वाचन पछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बाटै निर्णय गरेर समय सीमा तोकेर तत्काल गर्ने ११ काम अघि बढाउने छौं । मित्रहरु, फेरि अर्को भ्रम हाम्रा सामु चर्चा गरिँदैछ पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्व । म भन्न चाहन्छु म आज स्पष्ट शब्दमा भन्न चाहन्छु यो देश पुस्ताहरु बीचको द्वन्द्वले बनेको होइन र द्वन्द्वले बन्दैन पनि चल्दैन पनि । देश बनाउनका लागि युवाको ऊर्जा चाहिन्छ । त्यो जोस, त्यो सपना, त्यो हिम्मत जसले जस्तो सुकै कठिन पहाड पनि चढ्न सक्छ । तर सँगसँगै अनुभवी पुस्ताको दृष्टि पनि चाहिन्छ । त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लर्खराउँदा भरोसा दिन्छ । युवा भनेको आगो हो। तर आगोलाई दिशा चाहिन्छ नत्र त्यही आगोले जलाउँछ । अनुभव भनेको उज्यालो हो । तर उज्यालोलाई पनि ऊर्जा चाहिन्छ नत्र उज्यालो आफै निभ्छ । आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो रणनीति, हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो। त्यसैले यो निर्वाचन पुस्तान्तरको होइन, देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह हो । यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष पनि हो। ।’
उहाँले राष्ट्रिय स्वाभिमानको रक्षा, संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सबै नेपाली जनतालाई ‘देश पहिला’ भन्ने भावनाका साथ मतदान गर्न अपील समेत गर्नुभयो ।