काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ताे विश्वास व्यक्त गर्नुभएकाे हाे । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्नुभयाे। उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ। उहाँले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनलाई पथ प्रदर्शन गर्ने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्नुभयाे ।
राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल फनि गरेका छन् । ‘२००७ सालको क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना, सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको जारी शुभकामना सन्देशमा भनिएको छ।’
राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिल समेत गर्नुभयाे ।






प्रतिक्रिया दिनुहोस्