Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


६ महिनामा ५३ अर्ब कर छुट


130
Shares

काठमाडाैं ।

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले करिव ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले ४ खर्ब ८ अर्बका मालवस्तुको पैठारीमा ५२ अर्ब ८४ करोड ९६ लाख महशुल छुट दिएको हो ।

मूल्य अभिवृद्धि कर ऐन अनुसार मूल्य अभिवृद्धि कर छुट हुने वस्तुहरुको पैठारी भएका २ खर्ब १६ अर्ब २ करोड २९ लाख बराबरका वस्तुहरुमा २९ अर्ब ७० करोड ३३ लाख करछुट दिइएको मन्त्रालयले जनाएको छ । यस्तै, भन्सार ऐनका आधारमा कुटनीतिक सुविधा अन्तर्गत पैठारी भएका ५९ करोड ७५ लाख बराबरका वस्तुहरुमा ४८ करोड २९ लाख भन्सार महशुल छुट दिइएको जनाइएको छ ।

भन्सार ऐनलाई नै प्रयोग गरेर महशुल सुविधाका नाममा ८ करोड ८ लाख बराबरका वस्तुहरुको पैठारीमा ४ करोड २१ लाख करछुट दिइएको छ । मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार र सरकारी स्वामित्व संस्थाहरुले गरको ३७ अर्ब ५४ करोड बराबरका मालवस्तुमा सरकारले ९ अर्ब ५० करोड कर छुट दिएको छ ।

मन्त्रालयका अनुसार सरकारसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा अयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी भएका ३९ अर्ब ९२ करोड बराबरका मालवस्तुमा सरकारले १४ अर्ब ९७ करोड करछुट दिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै साफ्टा सुविधा अन्तर्गत पैठारी भएका ४२ अर्ब ४० करोड बराबरका मालवस्तुहरुमा सरकारले २७ अर्ब ६९ करोड बराबरको करछुट चालु आर्थिक वर्षको ६ महिनामा दिएको छ । मन्त्रालयकाअनुसार विविध छुट सुविधा शिर्षकमै १ खर्ब ४० अर्ब ७८ करोड ६९ लाख बराबरका वस्तुहरुमा सरकारले १७ अर्ब ४० करोड ३३ लाख बराबरको कर छुट दिइएको छ । सरकारले वार्षिक रुपमा खर्बभन्दा बढि कर छुट दिँदै आएको छ ।