Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


गलेश्वरमा चार लाख ७० हजार बढी भेटी सङ्कलन


208
Shares

ध्रुवसागर शर्मा, म्याग्दी ।
पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रि पर्वमा चार लाख ७० हजार ९१६ रुपियाँ भेटी सङ्कलन भएको छ ।

बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा उक्त भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।आइतबार भक्तजनले चढाएको भेटी सङ्कलन गरी कोषका पदाधिकारी, कर्मचारी, गलेश्वर बजारवासी, आमा समूह, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थितिमा सोमबार गणना गरी सार्वजनिक गरिएको हो ।

महाशिवरात्रिका दिन देशका विभिन्न स्थानबाट आएका हजारौँ भक्तजनले पूजा अर्चना गर्दै चढाएको भेटी मूल मन्दिर तथा अन्य स्थानहरूबाट सङ्कलन भएको थियो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार मूल मन्दिरसहित विभिन्न स्थानबाट तीन लाख ८५ हजार पाँच सय ३१ रुपियाँ, रसिदबाट ४४ हजार १४५ रुपियाँ तथा व्यापारिक स्थल भाडाबाट ४५ हजार ४०० रुपियाँ सङ्कलन भएको छ ।


कोषका अनुसार, साउनका सोमबार, बाला चतुर्दशी, शिवरात्रिको भोलिपल्ट तथा अन्य समयमा मासिक रूपमा पनि भेटी गणना गर्ने प्रचलन रहेको छ । महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउन जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब तथा आमा समूहका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

मन्दिरबाट सङ्कलन हुने भेटी रकम पूर्वाधार निर्माण, मन्दिर संरक्षण, परिसर सौन्दर्यीकरण तथा गलेश्वर क्षेत्रको समग्र विकासमा खर्च गरिँदै आएको छ ।

साथै, शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन तथा अन्य भौतिक पूर्वाधार निर्माणमा समेत उक्त रकम उपयोग गरिने कोषका अध्यक्ष रेग्मीले उल्लेख गर्नुभयो ।