Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


श्रीमतीकाे बीभत्स हत्या, श्रीमान् फरार


1.1k
Shares

रौतहट।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिलाको घाँटी रेटी बीभत्स हत्या भएको छ ।

फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा गाउँमा २८ वर्षीया आरती देवी यादवको आइतबार बिहान उनकै श्रीमानले हत्या गरी फरार भएका हुन् । स्थानीय ४२ वर्षीय महन्थ राय यादवकी श्रीमती २८ वर्षीय आरती यादवलाई प्रहरीले आफ्नै घरको खाटमा घाटी काटेर हत्या गरेको अवस्थामा शव फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको प्रहरी टोलीले बन्द ढोका खोलेर भित्र पस्दा आरती यादवको शव रगतले लतपतिएको अवस्थामा फेला पारेको जनाइएको छ । प्रहरीका अनुसार यादवको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको, घटनास्थलमा खाटमुनि र वरपर ठूलो मात्रामा रगत रहनुको साथै शव खाटमा उत्तानो परेको अवस्थामा रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार, घटनाको प्रकृति हेर्दा हत्या भएको स्पष्ट देखिएको छ । घटनालगत्तै मृतकका श्रीमान् महन्थ राय यादव फरार रहेकाले प्रहरीले उनैमाथि मुख्य आशंका गरेको छ । प्रहरी नायब उपरीक्षक बस्यालले फरार महन्थ राय यादवको खोजीका लागि प्रहरीले जिल्लाभरि र सीमा क्षेत्रमा समेत निगरानी बढाएको बताए ।