काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले लगातार दोस्रो जित हासिल गरेको छ ।
घरेलु मैदान पल्लेकेलेमा बिहीबार भएको खेलमा श्रीलङ्काले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । श्रीलङ्काले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमात्र बनाउन सक्यो । ओमानका मोहम्मद नदीमले ५६ बलमा नटआउट ५३ रन बनाएका हुन् । श्रीलङ्काका दुष्मन्थ चमीरा र महेश थेक्शनाले २र२ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर २ सय २५ रन बनायो । श्रीलङ्काका कुसल मेन्डिसले ६१, पवन रथनायकेले ६०, कप्तान दसुन शनाकाले ५० रन बनाए । ओमानका जितेन रामानन्दीले २ विकेट लिएका थिए । सोही जितसँगै श्रीलङ्का २ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । ओमानको यो लगातार दोस्रो हार हो ।
प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्ने छन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुने भएको हो ।






प्रतिक्रिया दिनुहोस्