Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्न प्रेस काउन्सिललााई आयाेगकाे पत्राचार


143
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारकाे बारेमा अध्ययन-अनुसन्धान गरी कानूनी कारबाही गर्न प्रेस काउन्सिल नेपालमा पत्रचार गरेको छ ।

आयाेगले काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष एवं र सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिललाई कानूनी कारबाहीका लागि पत्र पठाएको जनाएकाे हो ।

उजुरी अनुसार यसमा प्रचलित कानूनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न काउन्सिलमा पठाइएको आयोगले बताएको छ । आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) को प्रतिकूल हुने गरी उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोष्ट गरेको भनी उजुरी परेकाले काउन्सिलमा पठाइएको आयोगका कानून अधिकृत मोहनराज जोशीले बताउनुभयाे ।

त्यसैगरी गोरखापत्र संस्थानले मधेश र बागमती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि स्पष्टीकरण सोधिएको उहाँले जानकारी दिनुभयाे। आयोगले संस्थानलाई यस विषयमा दुई दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको जनाएको छ ।