शंकर बरुवाल, रामेछाप । मंगलबार भएको दुर्घटनामा ज्यान गुमाएका परिवार आफन्तले जिल्ला प्रशासनको अगाडि प्रर्दशन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि पीडितहरुले प्रदर्शन गरेका हुन् । पीडित पक्षले मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका विषयमा सहमति जुटाउन साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए।
सो समयभित्र पनि यातायात व्यवसायी सम्पर्कमा नआएको र प्रशासनले ठोस निकास निकाल्न नसकेपछि प्रदर्शनकारीले प्रशासनको मूल ढोका (गेट) तोड्ने प्रयास गरेका थिए। मृतकका आफन्तले बुधबार बिहानदेखि मन्थली नगरपालिका–६ स्थित आकाशे, भैंसेश्वर क्षेत्र हुँदै मन्थली–खुर्कोट सडक अवरुद्ध गरेका छन् । दुर्घटनामा संलग्न सवारीसाधन धनी तथा यातायात समिति सम्पर्कमा नआएको भन्दै आफन्तले सडक बन्द गरेका हुन् ।
काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल राजमार्ग हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुंगातर्फ जाँदै गरेको बा।प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात प्रालि) यात्रुवाहक बस मंगलबार बिहान करिब १०:४० बजे मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक अनियन्त्रित भई सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो ।
उक्त दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए । मृतकका परिवारले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको सम्पूर्ण उपचार र जीवनभर पालन–पोषणको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।






प्रतिक्रिया दिनुहोस्