काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइकाे काम सम्पन्न भएको छ ।
निर्वाचन आयोगले मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको जनाएकाे हाे। साेमबारसम्म कूल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथरको मतपत्र छपाइ सम्पन्न भएको छ ।
त्यस्तै, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको हाे । लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयाेगले जनाएकाे छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको उहाँले बताउनुभयो ।
साेमबारसम्म १० हजार ७ सय ५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ । प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयाेगले जनाएकाे हाे ।






प्रतिक्रिया दिनुहोस्