काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित क्लिकमाण्डु सिम्पोजियम कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । गृहमन्त्री अर्यालले कुनै पनि व्यवसाय, उद्योग र लगानीको सुरक्षा गर्ने राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै त्यसलाई पूरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँजे जेन–जी आन्दोलनपछि पनि निजी क्षेत्रले प्रतिकूल परिस्थितिमा पनि हौसलाका साथ काम गरेकाले मुलुकको अर्थतन्त्र पुन गतिशील बन्दै गएको समेत बताउनु भयो । गृहमन्त्री अर्यालले निजी क्षेत्रसँग राज्यले विश्वासको पुल निर्माण नगरी मुलुकको आर्थिक अवस्थामा सुधार नआउने पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘व्यवसाय, उद्योग र लगानीको सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी हो । कुनैपनि नाममा हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन । म विश्वास दिलाउन चाहन्छु–जेनजी आन्दोलनको अध्ययनको क्रममा उठाइएको निष्कर्षहरु सरकारको लागि आलोचना मात्रै होइन, सुधारको स्पष्ट रोडम्याप पनि हो । राज्य र निजी क्षेत्रबीच विश्वासको पुल पुनर्निर्माण नगरी आर्थिक पुनर्उत्थान सम्भव छैन । आजको दिनमा यो बहस त्यस दिशामा महत्वपूर्ण रहेको छ । प्रतिकुल परिस्थिति बाबजुत निजी क्षेत्रले उच्च हौसला कायम राखेकाले देशको अर्थतन्त्र पुनः गतिशील बन्दै गएको अवस्था छ ।’
गृहमन्त्री अर्यालले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले आवश्यक पहलकदमी लिईरहेको दावी समेत गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्