ओखलढुंगा । चिशंखुगढी गाउँपालिका–६ बोहोरेमा माघ १२ गते भएको वृद्ध दम्पत्ती हत्या प्रकरणमा संलग्न अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १२ गते राति अन्दाजी २२ बजेको समयमा अन्दाजी ८१ वर्षका चन्द्र विक्रम राई आफ्नै घरको दोस्रो तलास्थित सुत्ने कोठाको खाटमा सिरक ओढी मृत अवस्थामा फेला परेका थिए भने उनकी श्रीमती अन्दाजी ८० वर्षीया चन्द्रमाया राई खाटछेउ भुइँमा सिरक ओढेको अवस्थामा मृत भेटिएकी थिइन्। घटनाबारे माघ १३ गते बिहान ०७ः४० बजे स्थानीयवासीले प्रहरीलाई सूचना दिएका थिए।
सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट संयुक्त अनुसन्धान टोली परिचालन गरिएको थियो। घटनाको थप सूक्ष्म अनुसन्धानका लागि माघ २० गते केन्द्रीय अनुसन्धान ब्यूरोबाट विज्ञ जनशक्ति खटिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा लुटपाट गर्ने योजना बनाई काठमाडौंबाट घटनास्थल पुगेका अभियुक्तहरू पहिचान भई माघ २३ गते काठमाडौं महानगरपालिका–१५ डल्लु, लखतीर्थ मार्गस्थित डेराबाट पक्राउ गरिएको हो।
पक्राउ परेका अभियुक्तहरू धनबहादुर राना मगर ओखलढुंगा , साविक भदौरे गाविस–४ हाल चिशंखुगढी गाउँपालिका–६काले लुटपाटको योजना बनाई अर्का अभियुक्तसँग काठमाडौंदेखि घटनास्थल गई हत्या तथा लुटपाटमा संलग्न, लुटिएका दसी–प्रमाणका सामान प्रयोग तथा व्यवस्थापन गरेका थिए ।
पक्राउ परेका अभियुक्तहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्