Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र


130
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले नेपालमा राजसंस्था अतिआवश्यक भईसकेको दाबी गर्नुभएको छ । 

आइतवार काठमाडौंका पार्टीको उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नु भएको हो । वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको पार्टीको अडान राख्नुभयो ।

उहाँले राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्था चाहिन्छ भनेर नयाँ समझदारीमा मुलुकलाई लैजानुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको समेत बताउनु भयो । वरिष्ठ उपाध्यक्ष मिश्रले राप्रपालाई मत नदिए मुलुक फेरि पनि संकटबाट मुक्त हुने अवस्था नआउने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अब राप्रपाले भन्दै आएको नविन समझदारीमा देशलाई लैजानै पर्छ । देशमा विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, राजनीतिक पार्टीहरु, राजनीतिक गुटहरु, व्यक्तिहरु सबैभन्दा माथि एउटा राजसंस्थाको छहारी नेपालको लागि अति आवश्यक भयो । यो हाम्रो पुस्ता भन्दा पनि हामीमाथि  मुनिको पुस्ताका लागि अतिआवश्यक भयो । किनभने उनीहरुले देशमा हाम्रो भन्दा धेरै लामो समय बिताउनुछ । उनीहरुको सन्तान, दरसन्तानले यो देशमा लामो समय बिताउनुछ । अव यी विषयहरुलाई मनन गरेर नेपाली आम मतदाताले यो पटक भोट दिने हो भने राप्रपा बाहेक, हलो बाहेक अर्को पार्टी हुनै सक्दैन । अब फेरि त्यसलाई मनन नगरी भोट दिनु भयो भने यो साईकल यसै गरी चलिरहन्छ । हरेक चुनावमा मतदाता उत्साहित हुने तर कहिल्यै समस्याको समाधान नहुने स्थिति कायमै रहन्छ । त्यो समस्याको समाधानको दिशामा हामी जानुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्थाको आलोचना गर्ने नेताहरुमा पनि मौनता देख्न थालिएको टिप्पणी समेत गर्नुभयो ।