Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता


91
Shares

काठमाडौँ ।

केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पाँचौँ तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको रेसमा पुरुषतर्फको विजेता लोकेन्द्रले एक घन्टा ४१ मिनेट ४ सकेन्ड समय लगाए । चौथो चरणमा उहाँ दोस्रो स्थानमा रहेका थिए । पछिल्लो संस्करणको विजेता मिलान कुलुङ राई भने एक घन्टा ४३ मिनेट र २७ सकेन्ड समय लगातार दोस्रो भए । दिपक अमात्यले (१ः५८ः२३ सकेन्ड) तेस्रो स्थान बनाए ।

महिलातर्फ चौथो चरणको विजेता सोनिया मार्टिनलाई पछाडि पारेर एनीले उपाधि जितिन् । एनीले २० किमीको दुरी २ घन्टा १७ मिनेट ५७ सकेन्डमा पुरा गरिन् । सोनिया (२ः२३ः२८ सकेन्ड)ले दोस्रो स्थानमा चित्त बुझाइन् । नेपालकी छिरिङ ओङमु शेर्पा (२ः३२ः३० सकेन्ड) तेस्रो भइन् ।

१० किलोमिटर दौडमा पुरुषतर्फछिरिङ टासी ह्योल्मो (१ः१२ः१६ सकेन्ड) पहिलो, प्रेमबहादुर सुनुवार (१ः१४ः४४ सकेन्ड) दोस्रो र तिलविक्रम साम्बाहाङगे (१ः१६ः०९ सकेन्ड) तेस्रो स्थानमा रहे । सो दुरीमा महिलातर्फ अनाबेल ग्रोन्तुनले एक घन्टा २१ मिनेट ५० सकेन्ड समय लगाएर पहिलो स्थान हात पारिन् । मार्गउस टेस्टन (१ः३५ः३२ सकेन्ड) दोस्रो र मुना लिम्बु (१ः३९ः१४ सकेन्ड) तेस्रो स्थानमा रहे ।

२० किमीको दौड सिङगल ट्रीबाट सुरु भएर फुलबारी गेट, जामाचोर आमडाँडा हुँदै सिङगल ट्री मै पुगेर सम्पन्न भएको थियो । १० किमी दौड सिङगल ट्री, बतासे डाँडा इचंङगु भएर सिङगल ट्रीमै सकिएको थियो ।

“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कूल ९४ जना धावकधाविकाले सहभागिता जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठ तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।