Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आजदेखि


338
Shares

काठमाडौं । क्रिकेटको महाकुम्भ मानिने ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको औपचारिक सुरुआत आजदेखि हुँदैछ ।

कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच हुने उद्घाटन खेलसँगै विश्वकपको यात्रा सुरु हुन लागेको हो । तर प्रतियोगिता सुरु हुनुअघि नै सुरक्षा र राजनीतिक विवादले विश्वकपलाई घेरेको छ ।

विश्वकपको पूर्वसन्ध्यामा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्न सक्ने सम्भावना अझै कायम छ । पाकिस्तानी सरकारले टोली भारतसँग नखेल्ने संकेत गरे पनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यसबारे औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन । आयोजक श्रीलंका क्रिकेटले भने पाकिस्तानलाई खेलमा सहभागी हुन निरन्तर आग्रह गरिरहेको जनाएको छ ।

यसअघि सुरक्षा कारण देखाउँदै बंगलादेश प्रतियोगिताबाट बाहिरिएपछि विवाद सुरु भएको थियो । बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराइएको छ । साविक विजेता भारत यसपटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । भारतीय कप्तान सूर्यकुमार यादवले आफ्नो टोली ‘जित्ने मानसिकता’सहित मैदान उत्रने बताएका छन् ।

समूह ‘ए’ मा रहेको भारत सहजै ‘सुपर एट’ चरणमा पुग्ने अनुमान गरिएको छ । यस समूहमा भारतलाई पाकिस्तान र पछिल्लो समय तीव्र प्रगति गरिरहेको अमेरिका चुनौतीका रूपमा देखिएका छन् । शनिबार नै मुम्बईमा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई पटकका विश्वकप विजेता अस्ट्रेलिया र इंग्ल्यान्ड पनि उपाधिका बलिया दाबेदार मानिएका छन् । तर मिचेल मार्सको कप्तानीमा रहेको अस्ट्रेलियालाई प्रतियोगिताअघि नै झट्का लागेको छ । टोलीका प्रमुख तीव्र गतिका बलर प्याट कमिन्स र जोश हेजलवुड चोटका कारण बाहिरिएका छन् ।

समूह ‘सी’ मा इंग्ल्यान्डको कप्तानी ह्यारी ब्रुक्सले गर्दैछन् । जोस बटलरपछि ब्रुक्सको नेतृत्वमा इंग्ल्यान्डले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेको हो । यस समूहमा नेपाल, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् । दुई पटकको च्याम्पियन वेस्ट इन्डिजको उपस्थितिले समूह ‘सी’ अझ रोचक बन्ने देखिन्छ ।

अहिलेसम्म विश्वकप उपाधि जित्न नसकेको दक्षिण अफ्रिका यसपटक इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रँदैछ । कप्तान एडेन मार्क्रमले प्रतियोगितामा कुनै पनि टोलीले कसैलाई पनि हराउन सक्ने भन्दै सतर्क खेल आवश्यक रहेको बताएका छन् । दक्षिण अफ्रिका रहेको समूह ‘डी’ मा न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेका छन् ।

प्रतियोगिताको ढाँचाअनुसार चार समूहबाट शीर्ष दुई–दुई टोली ‘सुपर एट’ चरणमा प्रवेश गर्नेछन् । त्यसपछि आठ टोलीलाई पुनः दुई समूहमा विभाजन गरिनेछ र त्यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।