काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा ) का नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गर्नुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिनुभयो । नेता सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताउनुभएकाे छ ।
विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उहाँले ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर, केवल पद -प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र आफूहरु एउटै नभएको बताउनुभयो । उहाँले नयाँ उम्मेदवारहरूलाई कुन सरकारी कार्यालय कहाँ पर्छन् भन्ने आधारभूत जानकारी समेत नभएको भन्दै उनीहरूका कुरा हाँस्यास्पद रहेको टिप्पणी गर्नुभयो ।
पार्टीका तर्फबाट भएका विगतका कमजोरीहरू स्वीकार गर्दै सापकोटाले जनतामाझ गएर आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । उहाँले कार्यकर्तालाई प्रत्येक दिन एउटा पोस्ट लेखेर विरोधी भाष्यको गम्भीरतापूर्वक खण्डन गर्न आह्वान समेत गर्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस्