Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


एमालेले उपत्यकामा मात्र १० सिट जित्छ : सचिव बस्नेत


442
Shares

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गर्नुभएको हो । अघिल्लो निर्वाचनमा पाँच दलिय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको बताउनु भयो । यसपटक मतदाताहरु एमाले नै ठिक रहेको भन्ने निष्कर्षमा पुगेको उहाँको दाबी छ ।

उहाँले उपत्यकावासीहरू सचेत, शिक्षित र राजनीतिक रूपमा परिपक्व रहेको पनि बताउनु भयो । सचिव बस्नेतले केही घुमन्ते उम्मेद्वारहरुले भोट किनबेचको आरोप लगाउने गरेकोप्रति आपत्ति जनाउँदै उपत्यकामा देशकै सबैभन्दा धेरै बौद्धिक र शिक्षित वर्ग बसोवास गर्ने बताउनु भयो । उहाँकाअनुसार उपत्यकाको मत परिवर्तित छ । सानो घटनाले पनि यहाँको मत परिवर्तन हुने उल्लेख गर्नुहुँदै उहाँले यसपटक एमालेको माहोल बनेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँ कतिपय घुमन्ते साथीहरु आएर भोट किनबेच हुन्छ भन्ने आरोप लगाउने गरेका छन् । त्यो चाँही हामी उपत्यकाबासीहरुलाई गिज्याईरहेको कुरा हो । सबैभन्दा धेरै बौद्धिक वर्ग र शिक्षित वर्ग यहाँ छन् । त्यसकारण उनीहरुको भोट परिवर्तित छ । कहिलेकाँही सानो परिघटनाबाट पनि उपत्यकाकाले भोट परिवर्तन गरेको छ । अघिल्लो पटक स्वतन्त्र पार्टीले उपत्यकाका मात्रै सिट ल्याएको थियो । त्यो भोगाईबाट यसपाली चाँही एमाले नै ठिक हो भन्ने ठाउँमा उपत्यकाका बासी पुगेका छन् । अघिल्लो पटक पाँच दलिय गठबन्धन बनेको कारणले बालेन र रवीजीहरुको स्वतन्त्रको क्रेज भएकोमा अवस्थामा हामीले दुई सीट मात्रै जितेका हौँ । यसपाली उपत्यकाका १५ सीट एमालेको सुनिश्चित भन्ने नारा त दिएका छौँ तर कमसेकम १० सीट हामी जित्छौँ ।’

उहाँले देशमा एमालेले जति विकास निर्माणका कार्य अरुले नगरेको दाबी गर्नुभयो । उहाँले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, धरहरा, रानीपोखरी लगायतका संरचनाको निर्माण एमालेले गरेको बताउनुभयो ।