Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


देशमा विद्यमान संकटको डटेर सामना गरौँ : प्रधानमन्त्री कार्की


78
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरुको डटेर सामना गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरुको अन्त्यका लागि डटेर अघि बढ्नुपर्ने बेला आएको स्पष्ट पार्नुभयो । त्यस अवसरमा उहाँले राष्ट्र निर्माणमा जुट्न पनि शैक्षिक जनशक्तिहरुलाई आग्रह गर्नुभयो ।

विश्वविद्यालयबाट आर्जन गरेका ज्ञान र सीप स्वदेशमा नै भरपुर उपयोग गरेर उच्च शिक्षा हासिल गरेकाहरु राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाई थियो । उहाँले उच्च शिक्षा हासिल गरेर वाह्य मुलुकमा गएका विद्यार्थीहरुले राष्ट्रले गर्वं गर्न लायक नागरिक भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले उच्च शिक्षा प्रदायक संस्थाहरुलाई अझै गतिशील भएर अघि बढ्न पनि सचेत गराउनु भयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरु सबै अझै गतिशील हुन जरुरी छ । यस खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गर्न सकोस् । तपाईहरुले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप आफ्नो व्यक्तिगत तथा राष्ट्र निर्माणमा भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

यहाँहरुलाई जाँदाजाँदै मेरो विशेष अनुरोध छ–यो देश हाम्रो हो । हामी आफैले बनाउने हो । हामीले नै देशलाई बस्न लायक बनाउने हो । हामीले नबनाए कस्ले आएर बनाइदिने हो र । यहाँका तमाम बेथितिबाट भाग्ने होइन । हामी आफैले डटेर सामना गर्नुपर्दछ । आफू बसेको ठाउँ आफैँले सफा गर्नुपर्दछ ।

तसर्थ, यहाँहरु सकेसम्म नेपालमा नै केही गर्नुहोस् । नेपालमा नै अवसरहरुको पहिचान गर्नुहोस् । अवसर नभएका ठाउँमा नयाँ अवसरहरुको सृजना गर्नुहोस् । र जहाँ गएपनि नेपालले गर्व गर्नसक्ने नागरिक भएर अघि बढ्नुहोस् ।’ प्रधानमन्त्री कार्कीले कार्कीले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै अघि बढ्नुपर्ने समेत बताउनुभयो ।