Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


वाणिज्य बैंकको निष्क्रिय कर्जा साढे ४ प्रतिशत


221
Shares

काठमाडौं ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको निष्क्रिय कर्जा ४ दशमलव ५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड भएको जनाएको छ ।

यो अपरिस्कृत विवरण हो । बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो । उहाँले अहिले पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवर्द्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएकाले अर्थतन्त्रमा आशाको सञ्चार गरेको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो । कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उहाँले बैंकको पुँजीको आधार सुदृढ बनाउन तीन खर्ब बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको उल्लेख गर्नुभयो ।

बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिए तापनि पुँजी पर्याप्ताका आधारमा थप १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था रहेको छ ।

बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पुँजी १५ अर्ब ६३ करोड भएको बैंकले चालु आर्थिक वर्षको छ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब संकलन तथा १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।