Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


झापाबाट फर्केपछि ओलीको गुनासोः सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो


858
Shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताउनुभएको छ ।

गृहजिल्ला झापाबाट शुक्रवार (हिजो) काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको अध्यक्ष ओलीको भनाई थियो । शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गर्नुभयो ।

विमानस्थलमा आफूमाथि गरिएको सो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको ओलीले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अस्ती म यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरुमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ ? हैरान पारेको छ । अचम्मै त्यो विदेश जाँदाखेरी कहिले कहिले त्यो विदेश जाँदा पनि चिनेको ठाउँहरुमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा परियो भने देखिन्छ नेपालीहरुलाई हेपेको । हिजो एयरर्पोटमा त्यस्तै गरेर हेप्यो । किन त्यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छ । यो सरकार के गर्दैछ भन्दा बेथिति भईराखेको छ, अन्याय भईराखेको छ । बेठिक भईराखेको छ ।तर सरकार हामीलाई दुख दिने काममा लागि राखेको छ । अपमान गर्ने काममा लागि राखेको छ । हामी आफनै सम्मानका लागि लडिरहेको होइन । देशको सम्मानका लागि जनताको सम्मानका लागि, जनताको इज्जतको लागि लडिराखेको छौँ । त्यसकारण त्यो धेरै ठूलो कुरा मान्दिन म । तर सरकारको दृष्टिकोण, सरकारको मति चाँही के हो ? नेताहरुको अपमान गर्ने हो नि । त्यो सरकारले हिजै देखायो । कस्तो लाग्यो भने एउटा सभ्य समाजमा हामी छैनौँ कि जस्तो लाग्यो । एउटा जिम्मेवार सरकार होइन । अराजनीतिक, असभ्य सरकार छ । यी सबै कुराहरु हामीले फेरि सभ्य, सुसंस्कृत समाजमा ल्याउनुपर्नेछ । त्यो सबै कुरा चुनावको फैसलाबाट देखिन्छ ।’

अध्यक्ष ओलीले देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको पनि बताउनु भयो ।