काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाउनुभएको छ ।
शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आफूहरु चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भिर षडयन्त्र गरेको आरोप लगाउनुभयो । काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी प्रर्दशन गरेको उहाँको भनाई छ ।
राज्यले आफूहरुको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको उहाँले बताउनु भयो । यो सबै साम्राज्यवादको इशारामा दलाल शक्तिहरूले चालिएको षड्यन्त्र भएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘अहिले पनि राज्यले हामीलाई चुनावमा जाने वातावरण त बनाएन त ? बनाएन नी त । नेकपा माओवादी सर्लक्क जाने वातावरण बनायो त ? हामी दर्ता गर्दैछौँ पार्टी, हामी समानुपातिकको दर्ता गर्दैछौँ । हामी पार्टी दर्ता गर्दैछौँ । तर हाम्रो कम्युनमा किन गएको ? सुशीलाको सरकारले बोल्नु पर्दैन । काठमाडौमा हराएको हतियार खै ? काठमाडौमा आजकल चोकमा हेर्नुभयो भने पुलिस विना हतियार त्यतिकै टेक्ने लठ्ठी पनि छैन । तिनले केही रोक्दा पनि रोक्दैनन्, आजकल पुलिसहरु यति डेमोरलाईज छ की चोकमा फिलिलि हिडिरहेको छ, मान्छेहरु । यहाँ यस्तो हालत छ, तर यो राज्यको पुलिसलाई हाम्रो कम्युनमा किन पठाएको ? यो के साँचैको गम्भिर प्रश्न होईन ? मान्छेले के भने भने तपाईहरुको आलू होईन बम फल्यो रे ! बम फल्यो कि आलू फल्यो हेर्न त्यसलाई कसले भन्यो, अहिले ? हाम्रो कम्युनमा के फल्छ भन्ने त्यसलाई के चासो ? काठमाडौमा आफ्नो हराएको हतियार खोज्न नसक्ने सरकारलाई हाम्रो कम्युनमा के भईरहेको छ, भन्ने कुरा गर्न मिल्छ ? यो साम्राज्यवादको ईशारामा दलालहरुले चालेको षडयन्त्र होईन यो ?’ उहाँले सिंगो पार्टी निर्वाचनमा भाग लिने तयारीमा रहेको भएपनि राज्यको व्यवहारकै कारण त्यो सम्भावना नरहेको बताउनु भयो । उहाँले निर्वाचन र आन्दोलन दुबैको माध्यामबाट आफूहरुको रणनीति रहेको उल्लेख गर्नुभयो ।
सोहीअनुसार पार्टी सरकारले निर्वाचनको वातावरण नबनाएपनि फागुन २१ गते हुने निर्वाचनको लागि सहभागी भएको बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्