Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


पार्टी जोगाउन मध्यमार्गी बाटो रोजे : डा. शेखर कोइराला


663
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी र शान्त धार अपनाएको बताएका छन्। बिहीबार मोरङ–६ स्थित सुन्दरहरैंचामा आयोजित कार्यक्रममा उनले पार्टी एकताका लागि सौम्य पक्ष रोजेको स्पष्ट पारे।

प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको उल्लेख गर्दै कोइरालाले निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने विश्वास व्यक्त गरे। विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा स्पष्ट पार्दै उनले भने, “म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर बीचको बाटो लिएको हुँ।”

विशेष महाधिवेशन पार्टीको आन्तरिक प्रक्रिया भएको उल्लेख गर्दै उनले अहिले डिला संग्रौला र आफू एउटै स्थानमा रहेर निर्वाचन दौडमा सँगै अघि बढिरहेको बताए। “महाधिवेशनको विषय अब सकियो, त्यसतर्फ नजाऔं,” उनले भने।

आफू सांसद रहँदा नीति निर्माण, भ्रष्टाचारविरुद्ध आवाज उठाउने र सुशासन स्थापनाका लागि संसदभित्र र बाहिर निरन्तर लडेको पनि कोइरालाले बताए। सो क्षेत्रका जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको दाबी गर्दै उनले पार्टी फुटाएर हिँड्नुभन्दा एकतामार्फत निकास दिनु नै अहिलेको उत्तम विकल्प भएको बताए।

कार्यकर्ता भेटघाटका क्रममा कोइरालाले विगतका विषय स्वीकार गर्दै अब आगामी निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गरे। कांग्रेसलाई जिताउन सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।