Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै


78
Shares

काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरिँदै छ ।

आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो। यो क्रम आज बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने जानकारी दिएका छन् ।

आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ। माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ। शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी पनि उनले बताएका छन् ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिंगी १ गरी तीन हजार ४८७ को उम्मेद्वारी दर्ता भएको छ।

यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको पनि सहायक प्रवक्ता जिसीले सुनाए। सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ। यी उजुरीमाथि अहिले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ भइरहेको छ।