Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


तामाङ समुदायले विविध कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउँदै


78
Shares

काठमाडाैं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व साेमबार विविध कार्यक्रम गरी मनाइरहेका छन्।

मञ्जुश्री पात्रो अनुसार साेमारदेखि २८६२ औँं वर्ष शुरु भएको हाे । साेमबारदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघसहितका ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेक्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रमकाे आयोजना गरी मनाउने जनाएको छ ।

यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम शुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ । करिब चार हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुर लगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित अन्य समुदायले समेत यो पर्व मनाउने गर्दछन् । यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिने भएकाे हाे । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।