बिराज रोस्यारा (इमेज)
कैलाली, असोज ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश नम्बर–७ का इन्चार्ज भीम रावलले जिल्ला र तल्ला तहसम्मको पार्टी एकीकरण प्रक्रिया चाँडै टुंगिने बताएका छन् ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले एकीकरण प्रक्रियामा कुनै समस्या नरहेको बताए ।
केन्द्रीय सचिवालयबाट आएको सल्लाहअनुसार केही हेरफेरमात्रै गर्न बाँकी रहेको उनले बताए ।
प्रदेश कमिटीले पूर्णता पाएलगत्तै तल्ला कमिटी, विभाग र जनवर्गीय संगठनको एकता प्रक्रिया अघि बढ्ने नेता रावलको भनाइ थियो ।
एक फरक प्रसंगमा नेता रावलले मुलुकका लागि संघीयता नयाँ प्रयोग भएकाले केही अलमल भएपनि यो अन्योलता धेरै नरहने उल्लेख गरे ।
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको दोषी पक्राउ गर्न केन्द्र सरकार लागिपरेको पनि उनले बताए ।
पत्रकार सम्मेलनमा उपस्थित नेकपाका नेता लेखराज भट्टले आफूले प्रदेश कमिटीमा जिम्मेवारी नपाएकामा कुनै गुनासो नरहेको बताए ।
पार्टीले पद तथा जिम्मेवारी बाँडफाँटमा कुनै पक्षपात नगरेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्