काठमाडौं ।
आम्दानीको मुख्य स्रोत कफी खेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् ।
गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् ।
गाउँपालिकाको सहयोगमा वडा नं ५ को चौडिक र खोलाघारीमा पहिलोपटक मल्चिङ विधिबाट परीक्षणका रुपमा खेती भइरहेको छ । वडा नं ५ का वडाअध्यक्ष विजय राना मगरले पाँच रोपनीमा ६०० भन्दा बढी बिरुवा रोपेर व्यावसायिक रुपमा मल्चिङ विधिबाट कफी खेती सुरु गर्नुभएको छ ।
मल्चिङ विधिबाट खेती गर्दा मल नबगाउने, झार नउम्रिने र ओसिलोपन व्यवस्थापन हुने भएकाले यो प्रविधि उपयोगी भएको उहाँको भनाई छ । त्यससँगै थोपा सिँचाइ प्रविधि पनि प्रयोग गरिएको छ । यसरी खेती गर्दा चाँडो फल लाग्ने र त्यो गुणस्तरीय हुने उहाँले बताउनुभयो ।
महाभारत गाउँपालिका–२ सोक्तेलका कफी उत्पादक किसानहरुले पनि छहारी व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । छहारी व्यवस्थापनबाट बिरुवा निरोगी हुने र चेरी पनि गुणस्तरको हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् ।
गाउँपालिकाले कफी उत्पादन र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको सहयोग र समन्वयमा समुदायमा आधारतिर ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको तीन हजार २०० रोपनीमा कफीको व्यावसायिक कफीखेती विस्तार भइरहेको छ । विसं २०७८ सालदेखि यहाँका कफी किसान, कृषि सहकारी र समूहलाई गरेर तीन लाख ३१ हजार भन्दा बढी विरुवा वितरण गरिसकेको महाभारत गाउँपालिकाले जनाएको छ । पालिकाबाट बोट वितरणका लागि ७८ हजार बोट उत्पादन भएका छन् ।





प्रतिक्रिया दिनुहोस्