Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


बुढासुब्बा गोल्डकप फुटबलको २६औं संस्करण माघ २२ गतेदेखि हुने


182
Shares

काठमाडौं । सुनसरीको धरानमा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यहि माघ २२ गतेदेखि हुने भएको छ ।

धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिता अन्तर्गत यस वर्षको प्रतियोगिता माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको हो। क्लबका अध्यक्ष प्रताप तामाङले बिहीबार पत्रकार सम्मेलनमार्फत गत वर्ष ८ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद १० लाख प्राप्त गर्ने छन् । उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने भएका हुन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५र२५ हजारका दरले प्रदान गरिने क्लबका महासचिव नवीन राईले बताएका हुन् । साथै सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

आयोजकले यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाडौं, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने जनाएको हो।