राजु चौधरी (इमेज)
चितवन, असोज ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमतको सरकारले काममा परिणाम नदेखाए नेकपा सकिने खतरा रहेको औंल्याएका छन् ।
जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्लासभाको उद्घाटनसत्रलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय तहदेखि केन्द्रसम्म नै जनताको अपार सर्मथनसहितको सरकार रहेका बेलामा पनि काम गर्न नसकिए पार्टी नै सकिने खतरा रहने टिप्पणी गरे ।
‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षीले पनि सहयोग गर्छु भनेका बेला र तलदेखि माथिसम्म नै आफ्नै सरकार रहेको अवस्थामा जनताले दिएको विश्वासअनुसार सबै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ’–उनले भने ।
‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइरहनपर्छ भन्ने आवश्यकता छैन । जनताले विकल्प खोज्छन्’–अध्यक्ष दाहालले थपे–‘यो त कम्युनिस्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’
हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक वर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयकाबारेमा जानकारी दिन सक्नुपर्ने उनको भनाइ छ ।
‘अब एक्सनमा जाने बेला’
कार्यक्रममा एक फरक प्रसंगमा अध्यक्ष दाहालले चीन, भारत र नेपाल मिलेर ‘जोइन्ट भेन्चर’मा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकूल रहेको बताए ।
‘हामीले १२/१५ हजार मेगावाटका ठूला विद्युत् परियोजनाहरु निर्माण गरी अन्तरदेशीय सम्बन्धलाई मजबुत् बनाउन सक्छौं । अब हाम्रो ध्यान यता जान जरुरी छ’–उनले भने–‘अब काममा एक्सनमा जाने बेला भएको छ ।’
झन्डै १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगन्डकी जलविद्युत् परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णयकाबारेमा उनले आफू प्रधानमन्त्री भएको बेलामा गरेको निर्णयमा नै अहिलेको सरकार आइपुगेको टिप्पणी गरे ।
‘एउटाले बनाउन दिने निर्णय गर्ने, अर्कोले भत्काउने, फेरि अर्कोले दिने यस्तै काम भएको छ’–उनले भने–‘मैले जहाँ लगेर प्रक्रिया टुंग्याएको थिएँ, अहिले सरकार त्यहीँ आइपुग्यो ।’









प्रतिक्रिया दिनुहोस्