
प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, असोज ८ । गत भदौ २६ गते एसिड आक्रमणमा परेकी १८ वर्षीया सम्झना दासको उपचारकाक्रममा आइतबार काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा मृत्यु भएको छ ।
रौतहटकी सम्झनालाई एसिड हानेको आरोपमा उनकै घरनजिकैका ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
छोरीलाई राम्रो शिक्षा दिएर ठूलो बनाउने धनमायाको योजना अब कहिल्यै पूरा नहुने भएको छ ।
१९ वर्षअघि प्रेमविवाह गरेकी धनमायाले सम्झना, सुस्मिता र एक छोरालाई जम्म दिइन् । आर्थिक अवस्था कमजोर थियो ।
सन्तानको सुखका लागि भन्दै उनले दुई छोरी र एक छोरालाई श्रीमान्को जिम्मामा छाडी मलेसिया उडिन् । जीवन राम्रै चलेको थियो ।
मलेसियाबाट केही कमाइ गरी नेपाल फर्किएकी उनी डेढ वर्षअघि पुनः मलेसिया नै गइन् । मलेसिया गएपछि उनका श्रीमान् जादोलालले अर्को विवाह गरे ।
छाँगाबाट खसेझैं भइन् धनमाया । फेरि पनि सन्ताको भविष्य सम्झँदै आफूलाई सम्हालेकै थिइन् । एक्कासि जब जेठी छोरी सम्झनालाई एसिड हानिएको खबर पाइन्, उनी हान्निँदै नेपाल आइन् ।
१८ वर्षीया छोरीको एसिडले जलेको अनुहार देख्दा धनमायाको होसहवास नै उड्यो । चार दिनअघि नेपाल आएकी धनमायालाई पुनः अर्को बज्रपात पर्यो, सम्झनाको मृत्यु ।
आइतबार राति उपचारकैक्रमममा सम्झनाको मृत्यु भयो । धनमायाले आफूलाई सम्हाल्न नै सकिनन् ।
काठमाडौंमा बस्दै आएकी सम्झना पाँच महिनाअघिमात्र घर गएकी थिइन् ।
सम्झनाकी कान्छीआमा एसशीला दासका आँखा पनि ओभाना थिएनन् । आफूसँगै रहेकी छोरीको मृत्यु हुँदा उनलेसमेत आफूलाई सम्हाल्न सकिनन् ।
गत भदौ २६ गते राति सुतिरहेकै अवस्थामा सम्झना र सुस्मिता एसिड आक्रमणमा परेका थिए । सुस्मिाताको स्वास्थ्य अवस्था भने सुधारिँदै गएको छ ।
एसिडका कारण सम्झनाको शरीरको ३५ प्रतिशत भाग जलेकाले बचाउन नसकेको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले जानकारी दिए ।
मृत्युको खबर सुनेर अस्पताल पुगेका राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिलकुमार झाले सम्झनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।
सम्झनाको उपचारका लागि कीर्तिपुर अस्पताललेसमेत आर्थिक सहयोग गरेको छ । उपचारमा लागेको ७५ हजार २४० रुपैयाँ अस्पतालले निःशुल्क गरेको छ ।
प्रतिक्रिया दिनुहोस्