काठमाडौँ ।
प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरी भर्नाका लागि नेपाल प्रहरीले आवेदन सङ्कलन सुरु गरेको छ ।
पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिइरहेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार आवेदन आह्वान गरिएको पहिलो दुई दिनमै २७ हजारभन्दा बढी दरखास्त सङ्कलन भइसकेको छ ।
दरखास्त आह्वानको दोस्रो दिन शनिबार मात्र १७ हजार जनाले आवेदन दिएका थिए । यसपटकको निर्वाचनका लागि नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । निर्वाचन प्रहरी भर्ना तथा परिचालनका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुकले माघ १ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । यस निर्वाचनमा पहिलो पटक सशस्त्र प्रहरी बललाई पनि म्यादी प्रहरीको कोटा दिइएको छ ।
सशस्त्र प्रहरीले जिल्ला सुरक्षा समितिमार्फत आवेदन सङ्कलन गरी १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन ठूलो सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिन लागिएको नेपाल प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्