Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


सभापति देउवालाई सुनिल शर्माको अनुरोधः रोइलो छाडेर बन्दसत्रमा आउनुहोस्


208
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आउन अनुरोध गर्नुभएको छ ।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता शर्माले सभापति देउवालाई रोइलो गर्न छोडेर बन्दसत्रको हलमा उपस्थित हुन अनुरोध गर्नुभएको हो ।

उहाँले महाधिवेशनको बन्दसत्रले सभापति देउवालाई झन्डै आधा दर्जन विकल्पहरु दिने समेत बताउनु भयो । उहाँले पार्टी चुनाव लड्न सभापति देउवालाई चुनौती दिँदै पराजित भएपनि फुलमालासहित घर पुर्याइदिने टिप्पणी गर्नुभयो । उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागलाई सम्बोधन गर्न मध्यमार्गी बाटो अवलम्वन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शेरबहादुर दाई तपाई एउटा इतिहास बोकेको नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ । अब तपाईलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईलाई सभापति बनायो, पटकपटक तपाईहरूलाई सत्तामा पुर्यायो । तपाई त्यो रोइलो छोडेर भोलि बिहा हल उद्घाटन गर्ने बेलामा यो हलमा आउनुहोस् ।

हामी तपाईलाई ६—७ वटा विकल्प दिनसक्छौँ । पहिलो विकल्प यदि तपाई फेरी निर्वाचन लड्नुहुन्छ ? आउनुहोस् । तपाईले हार्नुहोला या गगनजीले हार्नुहोला या मैले हारुँला वा विश्वजीले हार्नुहोला । लोकतन्त्रले जित्छ, प्रजातन्त्रले जित्छ र तपाई हारिरहँदा पनि हामी रथ हायर गरेर हार्ने साथिहरुलाई फुलमालासहित घरसम्म पञ्चेबाजा बजाएर पुर्याउँछौँ । यो हाम्रो कमिटमेन्ट हो । यदि तपाईलाई त्यो मन पर्दैन, त्यो साहस छैन भने हामी मल्टिपल विकल्पहरु दिनसक्छौँ ।’ पार्टीभित्र आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ । बन्दसत्र सोमवार बिहानदेखि शुरु हुनेछ ।