Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : खनाल


0
Shares

काठमाडौं, असोज ८ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताएका छन् ।

नागरिकता संशोधन विधेयकविरुद्ध आन्दोलन समन्वय समितिले सोमबार आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर ऐन संशोधन गर्नुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री खनालले भने–‘कुनैपनि नेपाली नागरिकता पाउनबाट बन्चित हुनहुँदैन । कुनै विदेशीले नेपाली नागरिकता पाउनुहुँदैन भन्ने संविधानको मूलमर्म हो । सोहीअनुरुप ऐन संशोधन हुनुपर्छ ।’

नेता खनालले नागरिकतासम्बन्धी ऐन बनाउँदा संविधानको भावनाअनुसार गहन अध्ययन गरेर सजग र सचेतपूर्ण तरिकाले बनाउनुपर्नेमा जोड दिए ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले नागरिकतासम्बन्धी ऐन संशोधन गर्दा ध्यान नदिएमा देशको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमसत्तालाई गम्भीर असरपार्ने बताए ।

सरकारले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्नका लागि संसदमा विधेयक पेस गरेको छ ।

नेपाल–भारतबीच खुला सिमाना भएको हुँदा भारतीय नागरिकमात्र नभइ अन्य देशका नागरिक पनि नेपालभित्र आइ बसोबास गरिरहेको हुँदा तिनीहरुलाई नागरिकता दिँदा ध्यान दिनुपर्नेमा समितिको जोड छ ।

समितिले कामका सिलसिलामा नेपाल आएका व्यक्तिलाई कार्यअनुमतिपत्र लिनुपर्ने व्यवस्था लागू गर्न पहल गर्नुपर्ने माग गरेको छ ।

कार्यअनुमतिपत्र लिएर काम गर्दा गैरकानुनीरुपमा नेपालमा प्रवेश गर्नेलाई रोक्न सकिने बताइएको छ । रासस