Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा


416
Shares

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भुमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्नका लागि नीति र नेतृत्व बदल्नु जरुरी रहेको बताउनुभयो । उहाँले पार्टी विधानको पालनाको गर्दा पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ? भन्दै पार्टीको संस्थापन पक्षलाई प्रश्न समेत गर्नुभयो । उहाँले महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन । त्यसकारण महाधिवेशन माग गर्नेहरुले भदौ २३ र ३४ पछाडि ठुलो परिवर्तन भयो । यो परिवर्तन किन भयो ? कसरी भयो ? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही, कहाँ गलत भयो ? यो सबैको विश्लेषण गरौँ । नीति पनि फेरौँ । नेता पनि फेरौँ । त्यसका निम्ति अधिवेशन गरौँ । नियमित महाधिवेशन मंसिरमा हुन नसकेपछि विशेष महाधिवेशन मागेको हो नि त ।’ उहाँले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरुलाई कहिल्यै पनि स्वीकार नगरिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

उहाँले पार्टीका कार्यवाहक सभापति पुर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निमन्त्रण सन्देश पठाएको पनि जानकारी दिनुभयो ।