Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन मतदातालाई कांग्रेस-एमालेकाे अपिल


598
Shares

काठमाडाैं। कर्णालीमा नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका छन् ।

एमालेका केन्द्रीय सचिव समेत रहेका मुख्यमन्त्री यामलाल कंडेलको रोहबरमा बसेको एमाले र कांग्रेस कर्णालीको बैठकले आह्वान गरेको हो । कांग्रेसले अन्यतर्फका ललितजंग शाही र एमालेबाट महिलातर्फ मिनासिंह रखाललाई उमेदवार बनाएको छ । कांग्रेस–एमालेले राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेका छन् ।

गठबन्धनका उम्मेदवारलाई मत दिई विजय गराउन कर्णाली प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुखहरू साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई अनुरोध गर्ने निर्णय गरिएको छ । त्यसैगरी, राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि समयमै मतदान स्थलमा उपस्थित हुन दुवै पार्टीको तर्फबाट पहल गर्ने निर्णय समेत बैठकले गरेको हाे।

बुधबार राति बसेको बैठकमा एमालेका तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा सहभागी भएका हुन् । त्यसैगरी कांग्रेसको तर्फबाट सभापति ललितजंग शाही र महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी भएका थिए ।